नेपाली ढुवानीका साधन भारतमा पुग्न पाउने गरि व्यापार सम्झौता संशोधन गरिनुपर्ने सुझाव

नेपाली ढुवानीका साधन भारतमा पुग्न पाउने गरि व्यापार सम्झौता संशोधन गरिनुपर्ने सुझाव

विराटनगर । नेपालबाट भारतमा हुने व्यापारमा ढुवानीको प्रवन्ध सीमाविहीन हुनुपर्ने सुझाव व्यक्त गरिएको छ । नेपाली नम्बर भएका ढुवानीका साधनहरू नेपालको उत्पादन बोकेर भारतका सहर पुग्न पाउने गरि द्विपक्षीय व्यापार सम्झौतामा संशोधन आवश्यक रहेको सुझाव दिइएको हो ।

नेपाल उद्योगवाणिज्य महासङ्घको प्रदेश १ समितिको आयोजनामा विराटनगरमा भएको सीमावर्ती भारतीय क्षेत्रसितको व्यापार सम्भावना विषयक गोष्ठीमा दुई देशबीचकोे व्यापार सम्झौता संशोधन गरेर गैरभन्सार अवरोध हटाउन पहल गर्नुपर्ने सुझाव दिइएको थियो ।
निर्यात व्यापारलाई भारतको मूल्यश्रृंङ्खलामा जोड्न आवश्यक रहेको नेपाल सरकारका पूर्वसचिव पुरुषोत्तम ओझाको भनाई थियो । उहाँले भारतसित दीर्घकालीन व्यापार सम्झौता गरेर गैरभन्सार अवरोध नहुने प्रावधान राख्नसके मात्रै नेपाल–भारत व्यापार घाटा सन्तुलन उन्मुख हुने बताउनुभयो । सिमानामा सुक्खा बन्दरगाह, कन्टेनर फ्रेट स्टेसन र आइसिपीजस्ता पूर्वाधार निर्माण गरेर दुई देशबीचको व्यापारलाई सहजीकरण गर्न सकिने पूर्व सचिव ओझाको बुझाई थियो । भारतमा निर्यात गर्ने उद्देश्यले नेपालमा उत्पादित वस्तुको समानीकरण, परीक्षण र प्रमाणीकरणलाई समान तुल्याउन आपसी मान्यता स्थापित गर्न व्यापार सम्झौता संशोधन आवश्यक रहेको भनाई थियो ।

नेपाली व्यवसायीले निर्यात गर्ने वस्तुको गुणस्तरको व्यवस्थापन, ब्रान्डिङ र लेभलिङमा ध्यान दिनुपर्ने र खरिद पक्षसँग विश्वास बढाउन सके व्यापारमा सहज अवस्था हुने सुझाव धेर्रको थियो । पूर्वसचिव ओझाले नेपाली व्यवसायीले भारतसितको निर्यातव्यापारमा प्रशस्त गैरभन्सार अवरोध झेल्नु परेको दावी गर्नुभयो ।
छिमेकी देशसँगको व्यापार सहजीकरण गर्न सीमा जोडिएका शहर उद्योगी–व्यापारीबीच संयुक्त संयन्त्र बनाउन सकिने बताइएको छ । राष्ट्रिय योजना आयोगका पूर्व सदस्य एवम् सावतीका अध्यक्ष डा. पोषराज पाण्डेले गत आर्थिक वर्ष भारतसितको व्यापारमा १ हजार ४४ अर्बको व्यापारघाटा नेपालले भोग्नु परेको बताउनुभयो । अहिलेकै निर्यात व्यापारको अवस्थाले भारतसितको घाटा घटाउन नसकिने भएकोले प्रत्यक्ष वैदेशिक लगानीमा ध्यान दिन आवश्यक रहेको उहाँले बताउनुभयो । भारतले लगाएका गैरभन्सार अवरोध पहिचान गरेर द्विपक्षीय वार्तामा गम्भीर रुपमा राख्न आवश्यक रहेको बताउनुभयो । नेपाल उद्योग वाणिज्य महासंघका केन्द्रीय सदस्य राजेन्द्र राउतले भारतबाट कच्चा पदार्थ ल्याएर त्यसैलाई प्रशोधन गरेर भारत नै निर्यात गर्दा धेरै समस्या रहेको बताउनुभयो । भारतले बङ्गलादेशमा उत्पादित जुटका वस्तुमा एन्टी डम्पिङ ड्युटी नलिने भएपनि नेपालका जुटउद्योग भारतमा उक्त ड्युटीको मारमा परिरहेको राउतको गुनासो थियो ।

यसैगरी महासङ्घका केन्द्रीय सदस्य अविनाश बोहराले नेपालले अब विश्वको मूल्यश्रृखलासँग जोडिएर भारतसँग निर्यात व्यापार बढाउन आवश्यक रहेको बताउनुभयो । भारतीय बजार नेपालको निर्यात व्यापारमा संभावना बोकेको भएपनि ठूलो घाटामा परेकोले सहजै निस्कन सक्ने स्थिति नरहेको बोहराको बुझाई छ । भारतसितको व्यापार घाटामा किन गयौँ भन्ने तथ्यको खोजेर नेपालमा लजिस्टिक खर्च घटाउनु पर्ने र निर्यात बढाउन वस्तु अनुसारको फरक–फरक नीति ल्याउनु पर्ने सुझाव बोहोराको छ । उद्योग सङ्गठन मोरङका पूर्व अध्यक्ष अशोक मुरारकाले भारतले कृषिजन्य उत्पादनको कच्चा सोझै लिनका लागि प्रशोधन गरेको वस्तुमा कर बढाएको आरोप लगाउनुभयो । नेपाली चियाको काँचो पत्तिको माग बढाएको भारतले प्रशोधन गरेको चिया निकासीमा अवरोध सिर्जना गरेको बताउनुभयो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्